समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति हुनुलाई गम्भीर रूपमा लिन आग्रह

सबैका लागि पूर्वसूचना प्रणाली बलियो बनाउन विज्ञहरूको जोड
श्रावण १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति हुनुलाई गम्भीर रूपमा लिन आग्रह

काठमाडौं । विज्ञहरूले नेपालले अवलम्वन गर्ने सबैका लागि पूर्वसूचना प्रणालीलाई बहुप्रकोप जोखिममा केन्द्रीत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सरकारले सबैका लागि पूर्वसूचना प्रणाली कार्यक्रम लागू गर्दा सबै प्रकारका विपद् र प्रकोपसँग काम गर्न सक्नेगरी बनाउन सुझाव दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै विज्ञहरूले सम्भावित विपद्बारे समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति कम हुन नसकेकोबारे सबै गम्भीर हुन आवश्यक रहेको बताए । 

कार्यशालामा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पानी, बाढी र हावाहुरी जस्ता घटनामा पूर्वसूचना दिन सकिएको बताउनु भयो । नेपाल सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकताको साथ अगाडी बढाएको पनि बताउनु भयो । 

समयमा नै सही सूचना प्रवाह हुँदा पनि जनधन क्षति किन भयो ? पुर्वसूचनाले किन काम गरेन ? भनेर विश्लेषण गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । नेपालमा जलवायुजन्य विपद्का घटनाको संख्या बढ्न थालेपछि विभिन्न विषयमा टोली नै बनाएर अध्ययन गरिरहेको छ । 

स्थानीय स्तरमा, प्रदेश स्तरमा र संघमा विभिन्न सरोकारवाला सँगको छलफलमा विपद्लाई बुझ्ने विषयमा धेरै कम मात्र जानकारी रहेको देखाएको छ । कार्यशालामा बोल्दै महानिर्देशक जोशीले पूर्वसूचना प्रणालीलाई बहुप्रकोप जोखिम केन्द्रीत गरेर लैजान सक्नुपर्ने बताउनु भयो । 

विपद्लाई बुझेर तत्काल कस्तो कदम चाल्ने भन्नेबारे स्पष्ट बुझाइ नहुँदा जोखिमको भार र असर बढेको उहाँले बताउनु भयो । पूर्वसूचनाको विश्लेषण र तथ्यांकको ज्ञानको अभावमा प्रभावकारी काम गर्न नसकिने उहाँले बताउनु भयो ।

नेपालमा घटिरहेका धेरै विपद्का घटनाहरूको कारण जलवायु जन्य हो भन्नेबारे सबैले बुझ्न विज्ञहरूले आग्रह गरेका छन् । कार्यशालामा देशभर गरिएको अध्ययन बारे जानकारी दिँदै सबैका लागि पूर्वसूचना प्रणाली, नेपालका संयोजक पपुलर जेन्टल भुषालले देशभर सबै तहमा समन्वयात्मक निकाय भएपनि प्रभावकारी काम नभएको बताउनु भयो । 

अध्ययनमा पूर्वसूचना प्राणाली र प्रतिकार्यको लागि पर्याप्त नीति र स्पष्ट कार्यनीतिको अभाव रहेको उहाँले बताउनु भयो । विभिन्न काम र उद्देश्यको लागि गाउँका वडादेखि केन्द्र सम्म धेरै प्रकारका समन्वयात्मक समिति भएपनि पूर्वसूचना प्रणालीको लागि कसैले काम गर्न नसकेको पाइएको उहाँले बताउनु भयो । नेपालमा जलवायुजन्य विपद् बहुसरोकारवाला विषय भएको र यसलाई विपद् प्राधिकरणले सही ढंगले समन्वय गर्न नसकेको पनि अध्ययनले देखाएको उहाँकाे भनाइ छ। प्रतिकार्यसँगै समन्वयात्मक काममा धेरै काम गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रमका जलवायु परिवर्तनविज्ञ दीपक केसीले सबैका लागि पूर्वसूचना प्रणालीको सफल कार्यन्वयनमा देखिएका अड्चन र खालीपनलाइ चिर्नसके विपद्को जोखिम घटाउन सकिने बताउनु भयो । नेपालसँग भएको पूर्वसूचना ज्ञान र उपलब्ध तथ्यांकको एकीकृत गर्ने, विश्लेषण गर्ने सीप र दक्षताको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

सरकारले सबैका लागि पूर्वसूचना प्रणाली कार्यान्वयनका लागि तदारूकताका साथ काम सुरू गरिसकेको छ । काठमाडौंमा जारी कार्यशालले पूर्वसूचना प्रणालीको राष्ट्रिय मार्गचित्रका लागि सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । 

प्राकृतिक विपद् र प्रकोपमा जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणाली प्रमुख माध्यम हो । स्पष्ट रूपमा बनाइएको सबैको लागि पूर्वसूचना नेपाल मौसमजन्य तथा जलजन्य विपद्सँग जुध्दै आएको छ साथै उत्तिकै जनधनको क्षति पनि भइरहेको छ । दुवै प्रकारका विपदमा पूर्वसूचना प्रणालीले मात्र जोखिम घटाउन र थप रणनीति बनाउन सहयोग गर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.