सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पा नजिक विप्पर कटेरीमा बस्दै आएका हायू समुदायका एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् ।उर्मिला हायूसहित उनको १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएको हो ।
अनकन्टारमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही पनि भेटिएका छैनन् । स्थानीय मोतीराज सापकोटाका अनुसार गत बिहीबार सुँगुर काटेर भोज गरेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
१५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि परिवारका कसैलाई पनि नदेखेको बताएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली र वडाध्यक्ष रविन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गरेका छन् । तर कोही पनि भेटिएका छैनन् ।
वडाध्यक्ष श्रेष्ठका अनुसार उनीहरूको भान्साघर जल्नुका साथै भाँडाहरू अस्तव्यस्त छन् । भान्सा केही जलेको भेटिएको छ । खोरमा पाँच वटा बाख्रा भोकै रहेको र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन परिवारको खोजी जारी रहेको बताउनुभयो । उहाँले सम्पर्कविहीन भएकाहरूको फोनको लोकशन रामेछापको मन्थलीतिर देखिएको भन्ने आएकाले कतै घुम्न गएका हुन् कि भन्ने अनुमान गरिएको बताउनुभयो । तर स्थलगत कोही भेटिएका छैनन् । अनकन्टारमा घर रहेकाले छिमेकीको समेत आवतजावत कम हुने गरेको पाइएको छ ।