चुरे विनाश र जलवायु परिवर्तनले मधेशमा पानी संकट, खेत बाँझै रहने चिन्ता

श्रावण ८, २०८२ |अमरकान्त ठाकुर
चुरे विनाश र जलवायु परिवर्तनले मधेशमा पानी संकट, खेत बाँझै रहने चिन्ता

जनकपुरधाम । केही वर्षअघिसम्म पनि साउन भदौमा झरी परेर हिलाम्य खेत र पोखरीहरू भरिभराउ हुने गर्थे मधेश प्रदेशमा । तर चुरे क्षेत्रको विनाशसँगै जलवायु परिवर्तनको प्रभावले तराई मधेशका जिल्लाहरू मध्य बर्खामै समेत काकाकुल हुने अवस्था आएको छ । 

पानी नपर्दा खेत बाँझै हुने चिन्ता त छँदैछ खानेपानीकै समेत अभाव भएको छ । जनकपुरधाम उपमहानगरपालिका ११ की राधादेवी यादवको घरमा केही दिनदेखि चापाकलमा पानी आउन छोडेको छ । 

पानीको सतह तल गएपछि उहाँले गाड्नु भएको २ सय फिट गहिरो चापाकलमा पानी आएको छैन । पानी आउन छाडेपछि उहाँ घरदेखि सय मिटर पर सार्वजनिक स्थानमा गाडिएको साढे चार सय फिट गहिरो चापाकलबाट पानी बोकेर गुजारा चलाउनु बाध्य हुनुहुन्छ ।

जनकपुरधामका लक्ष्मण अखाडा, मिल्स एरिया-३ लगायतका क्षेत्रका २ सय परिवार पानी नपाएर छट्पटिइरहेका छन् । घरका चापाकलमा पानी नआएपछि उनीहरूले पनि सार्वजनिक चापाकलबाट पानीको जोहो गर्ने गर्छन् ।

धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा पानी संकट उत्पन्न भएपछि संघीय तथा मधेश प्रदेश सरकारले प्रदेशलाई संकटग्रस्त तथा सुख्खा क्षेत्र घोषणा गरेका छन् । खानेपानीको चरम अभाव भएपछि केही जिल्लामा मधेश प्रदेश सरकारले पानी वितरण गरे पनि त्यो पर्याप्त देखिएको छैन ।

असारदेखि असोजसम्म मनसुनको समय रहेपनि जथाभावीरुपमा चुरे क्षेत्रको दोहन भइरहेका कारण मधेशमा वर्षको चक्रमै ठूलो बदलाव आएको छ । चुरे क्षेत्रको संरक्षण नहुँदा यसैगरी भूमिगत पानीको सतह तल झर्दै जाने हो भने तराई मधेशका जिल्लाहरू मरूभूमिमा परिणत हुँदै जाने डर बढेको छ । 

सरकारले तराईमा पानीको समस्या न्यून गर्न चुरे भावर क्षेत्रमा रिजर्भायर पोखरी बनाउने भनेर भाषणबाजी गरिरहे पनि त्यसले मूर्तरूप लिन सकेको छैन । अहिले समस्या परेको बेलामा तीनै तहका सरकार ब्यूाझिए झै त गरेका छन् तर चुरे संरक्षण प्राथमिकता नदिएसम्म यो समस्याको समाधान हुने देखिँदैन ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।