काठमाडौं । लगातारको खडेरीले सुक्खाग्रस्त मधेशमा आजदेखि बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सरकारले हिजो मात्र मधेशका ८ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेपनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेका कारण आज रातिबाट मधेशमा पानी पर्न सक्ने पर्ने महाशाखाले जनाएको हो ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
अहिले कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेको स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।