काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सांसदहरूका प्रश्नको जवाफ दिनुभयो ।
परम्परा निर्वाह गर्ने खालको 'रेडिमेड प्रश्न र रेडिमेड जवाफ' को प्रश्नोत्तरमा सांसदहरूले भ्रष्टाचार, संक्रमणकालीन न्याय, रोजगारी तथा विकास निर्माणसम्बन्धी प्रश्न सोधे । प्रधानमन्त्रीले भने आफ्नै शैलीमा जवाफ दिँदै बीच-बीचमा विपक्षी दलका सांसदमाथि घोचपेच गर्न छाड्नु भएन । अझ सरकारको आलोचना गर्ने खालका प्रश्नमा उहाँले ठाडै भन्नुभयो-आलोचनाका लागि कुनै ठाउँ छैन ।
नेपाली कांग्रेसकी सांसद मैना कार्कीले संक्रमणकालीन न्याय कहिले टुंगोमा पुग्ला र द्वन्द्वपीडितले कहिले न्याय पाउलान् भनी प्रश्न गर्नुभएको थियो । साथमा उहाँले जाजरकोट भूकम्पपीडितमाथि अन्याय भएको र नलगाड हाइड्रोपावरप्रति किन बेवास्ता गरिएको भन्ने आलोचनात्मक प्रश्न गर्नुभयो । प्रधानमन्त्रीले आयोगहरू गठन भई काम सुरू गरिसकेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषय सरकारको प्राथमिकतामा रहेको जवाफ त दिनुभयो । तर, सरकारको आलोचना गर्ने खालको प्रश्नमा जवाफ दिनुभयो- आलोचनाका लागि कुनै ठाउँ छैन ।
विपक्षी दल एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पर्वतको कुश्मामा रेलस्टेशन कहिले बन्छ भन्दै उक्त विषय बजेटमा किन नसमेटिएको भनेर व्यंगात्मक शैलीमा प्रश्न गर्नुभयो । प्रधानमन्त्रीको जवाफ पनि घोचपेच शैलीकै थियो । अहिले व्यङ्ग्य गर्नेहरूले यस्ता परियोजना बनेपछि जस लिन आउने भनेर उहाँले उल्टै व्यङ्ग्य गरिदिनुभयो ।
माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले भ्रष्टाचार नियन्त्रण गर्न के कति काम भएका छन भनेर प्रश्न गर्नुभएको थियो । उहाँको संकेत अहिले भ्रष्टाचार र घुस मोलमोलाइ प्रकरणका आरोपीमाथि हुने कारबाहीतर्फ थियो। तर प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेकै आधारमा कसैलाई पनि कारबाही नहुने स्पष्ट पार्नुभयो । तर कानुन बमोजिम भ्रष्टाचारमा संलग्नलाई कार्वाही भइरहेको उहाँको भनाइ थियो।
अधिकांश सांसदहरूले युवालाई देशमै रोक्न सरकारको योजनाबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले देशमै रोजगारीको सृजना गरी वैदेशिक रोजगारबाट फर्किएकालाई उनीहरूको पुँजी सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
त्यसैगरी सांसदहरूले भूमिसम्बन्धी समस्या, सडक निर्माण लगायतका समस्या लामो समयसम्म समाधान हुन नसकेको भन्दै कहिले निर्माण सम्पन्न हुन्छ भनेर प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले काम भइरहेको जवाफ दिनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा देखा परेका समस्या र चुनौती सामना गर्दै आएको बताउँदै मुलुकमा विकास, सुशासन र स्थायित्वको नीति अवलम्वन गरिँदै आएको पनि जिकिर गर्नुभयो ।