महोत्तरी । मधेश प्रदेश गम्भीर सुक्खाको चपेटामा परेको छ । वर्ष नहुँदा खानेपानी र सिँचाइ प्रणालीमा व्यापक असर परेको छ ।
मुलुकको अन्न भण्डार तराई-मधेशमा मनसुन सुरू भएको डेढ महिनासम्म पनि पर्याप्त पानी नपर्दा किसानले रोपाइँ गर्नै सकेका छैनन् भने जसोतसो रोपिएका खेत पनि चिरा परेका छन् । यस्तोमा मधेशलाई विपद् संकटग्रस्त क्षेत्र तोकेको सरकारले आफूलाई भौकै पर्न नदिन कस्तो राहत प्याकेज ल्याउँछ भनेर प्रभावित किसानहरू पर्खिइरहेका छन् ।
मध्य बर्खासम्मै पर्याप्त पानी नपरेपछि मधेशमा पानी संकट गहिरिएको छ । पानीका स्रोत सुकेका छन् । पानी नपरेका कारण साउनको दोस्रो साता लाग्दासमेत रोपाइँ हुन सकेको छैन जसले गर्दा खाद्यान्न संकट हुने चिन्तामा किसान छ्न ।
महोत्तरीमा सिँचाइ मात्रै नभई खानेपानीसमेत अभाव छ । चापाकलबाट पानी आउँदैन । खानेपानीकै समेत हाहाकार भइसक्दा स्थानीय सरकारले समस्या समाधानमा ढीलासुस्ती गरिरहेको गुनासो नागरिकले गरेका छन् ।
सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । कृषि ज्ञान केन्द्रले पनि समस्या समाधान निम्ति बुधबार महोत्तरीका १५ वटै पालिकाका कृषि शाखा प्रमुखहरूसँग छ्लफल गरेको छ । महोत्तरीमा हालसम्म ३५ प्रतिसत मात्रै रोपाइँ भएको छ ।
नयाँ आर्थिक वर्षको बजेट खर्च गर्न कार्यविधि नै बनाइ नसकेकाले प्रभावित किसानलाई राहत दिन संघ र प्रदेश सरकारको मुख ताक्नुपर्ने बाध्यता रहेको स्थानीय सरकारले जनाएको छ ।
कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार, साउन ४ गतेसम्म मधेश प्रदेशमा जम्मा ४६ प्रतिशत मात्र रोपाइँ भएको छ । मधेशको ३ लाख ७२ हजार ६४५ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।