कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण स्थलको सफाइ सुरू गरिएको छ ।
भारतीय लगानीमा निर्माण हुन लागेको दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालिले साइट क्लेरेन्स थालेको हो ।
नेपाल सरकारले प्रस्तावित स्थलमा रहेका १ हजार ७ सय ५ वटा रूख हटाएर जमिन खाली गरेपछि भारतीय निर्माण कम्पनीले साइट क्लियरेन्सको काम थालेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाट गरिने सुक्खा बन्दरगाहको शिलान्यास यथाशक्य चाँडो गर्ने तयारी छ ।
पहिलो चरणमा २५ हेक्टरमा गोदाम, भन्सार जाँच, क्वारेनटाइन, इमिग्रेसन, सुरक्षा व्यवस्थापन लगायतका संरचना निर्माण गरिनेछन् । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक अध्ययन प्रतिवेदनहरू समेत स्वीकृत भइसकेका छन् ।
भारतीय पक्षको नेतृत्व गरिरहनु भएका सिओएमटी कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुनील शर्माका अनुसार झण्डै २ अर्ब ३७ करोड भारतीय रूपैयाँको लागतमा तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।