दशैँका लागि राष्ट्र बैंकले सुकिला नोट सटही सुरू गरे पनि सर्वसाधारणको चासो कम

भाद्र ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशैँका लागि राष्ट्र बैंकले सुकिला नोट सटही सुरू गरे पनि सर्वसाधारणको चासो कम

काठमाडौं । दशैँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही सुरू गरे पनि सर्वसाधारणको चासो कम देखिएको छ ।

राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो । विगतका दशैँमा नयाँ नोट सटहीका लागि सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । 

नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गर्न थालेको हो । असोज १० सम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रूपैयाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । 

थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरूबाट सुकिला नोट वितरण भइरहेको छ । राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । 

सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

यसअघि राष्ट्र बैंकले दशैका लागि भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनका लागि भन्दै नयाँ नोट बन्द गरिएको हो । यस पटक पाँच रूपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैकले जनाएको छ । 

राष्ट्र बैकले झुत्रा, जलेका तथा दाबी नोटहरू भने दशैँ पछाडी मात्रै वितरण गरिने जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.