पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको सैन्य कारबाहीमा ३१ ‘विद्रोही’को मृत्यु

कारवाहीको क्रममा ठूलो मात्रामा हतियार र गोलाबारुद बरामद गरेको पाकिस्तानी सेनाको भनाइ
भाद्र ३१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको सैन्य कारबाहीमा ३१ ‘विद्रोही’को मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका सैन्य कारबाहीमा परी कम्तीमा ३१ ‘विद्रोही’को मृत्यु भएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स आईएसपीआरका अनुसार लक्की मरवात र बन्नू जिल्लामा कारवाहीका क्रममा उनीहरू मारिएका हुन् । 

सेनाद्वारा जारी विज्ञप्तिमा सुरक्षा बल र विद्रोहीबीच भएको भीषण गोलीबारीमा ३१ विद्रोहीको मृत्यु भएको उल्लेख छ । आईएसपीआरले कारबाहीहरू प्रतिबन्धित सङ्गठनसँग सम्बन्धित लडाकूको उपस्थितिको बारेमा प्राप्त भएको गोप्य सूचनाका आधारमा गरिएको र कारबाहीको क्रममा ठूलो मात्रामा हतियार र गोला बारूद पनि बरामद गरिएको जनाएको छ ।

कुनै पनि खतरालाई हटाउन दुवै क्षेत्रमा सरसफाइ अभियान जारी रहेको सेनाले जनाएको छ। सेनाले पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतङ्कवादको उन्मूलन गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्‍याएको छ।