जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छः अध्यक्ष दाहाल

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रले महिला, दलित आदिवासी, जनजाति तथा पछाडि पारिएको वर्गको हक अधिकार स्थापित गर्न र उनीहरूलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

माक्सवादी ज्ञान केन्द्रद्वारा बुधबार काठमाडौँमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “जुन सुकै दलका भए पनि महिलाहरू पदमा आउँदा मलाई गर्व लाग्छ, विद्रोहको औचित्य प्रमाणित भएको छ ।”

उहाँले लामो त्याग, सङ्घर्ष तथा सहिदहरूको बलिदानका कारण मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।

अध्यक्ष दाहालले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताउनुभयो । देश छाड्नुपर्छ, देशमा केही भएको छैन, सबै खत्तमै भयो भन्ने भ्रम छर्ने प्रवृत्तिविरूद्ध प्रतिवाद गर्ने औजारका रूपमा पुस्तक सार्वजनिक भएको उहाँले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र अघिभन्दा गणतन्त्र आएपछि देशका धेरै क्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै विकसित मुलुकको तुलनामा नेपालमा छिटो प्रगति भएको दाबी गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्रलाई असफल पार्ने प्रयास भइरहेको र त्यसलाई सफल हुन दिन नहुनेमा जोड दिँदै गणतन्त्रका पक्षमा सबै एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषदका सचिवालय सदस्य डा. जितेन्द्रदेव गिरीले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आएर गणतन्त्रको रक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

माक्र्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले गणतन्त्रमा केही भएन बिग्रियो भन्नेहरूका लागि गणत्रन्त्रअघिको अवस्था के थियो र गणतन्त्रपछि के भयो भनी विभिन्न विज्ञहरूबाट विश्लेषण तथा अध्ययनसहित पुस्तक तयार गरिएको बताउनुभयो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.