भ्रष्टाचार आरोपित मन्त्रीमाथि कारबाहीको माग

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचार आरोपित मन्त्रीमाथि कारबाहीको माग

काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहित विपक्षी रास्वपा र राप्रपाका सांसदले मन्त्रीको घुसकाण्ड बाहिरिएकाले छानबिन गरेर कारबाही गर्न माग गरेका हुन् ।

माओवादी केन्द्रकी सांसद नारायणी शर्माले घुस काण्डमा संलग्न मन्त्रीहरूलाई तत्काल बर्खास्त गरी कारबाही गर्न माग गर्नुभयो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसामा मात्रै नभइ अन्य प्रकरणमा पनि मन्त्रीहरू विवादमा तानिएकाले सबैको छानबिन गर्न माग गर्नुभयो । 

भिजिट भिसा प्रकरणको न्यायिक छानबिन गर्न महिनौंदेखि माग गर्दा पनि सरकारले नसुनेको आरोप उहाँले लगाउनुभयो । रास्वपाका सांसद विन्दवासिनी कंसाकारले घुस काण्डमा मुछिएका मन्त्रीहरूलाई सरकारले कारबाही नगरेकोमा आपत्ति जनाउनुभयो ।

संसदमा मधेशकेन्द्रीत दलका सांसदहरूले मधेश प्रदेशमा खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बैठकमा सांसदहरूले बाढी र पहिरोपीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.