जाजरकोटका ठेकेदारबाट ठगिए जुम्लाका कामदार

श्रावण ३, २०८२ |डीबी बुढा
जाजरकोटका ठेकेदारबाट ठगिए जुम्लाका कामदार

जुम्ला । जिल्लाकाे तिला गाउँपालिका-४ नुवाकोटका कामदार जाजरकोटका ठेकेदारबाट ठगिएका छन् । जाजरकोटका ठेकेदार राजेन्द्र रसाइलीले कामदारले काम गरेवापतको पारीश्रमिक नदिएका हुन् ।

कामदार दलबहादुर नेपालीले २०८० सालमा डोल्पाको जगदुल्ला गाउँपालिका-२ झ्यालकोटमा भवन निर्माण र २०८१ सालमा जुम्लाको सिंजा गाउँपालिका जाँचमा खानेपानी निर्माणको काम गरेका थिए । जगदुल्लाबाट साढे ३ लाख रूपैयाँ र सिंजाको जाँचबाट ६ लाख ९५ हजार रूपैयाँ ठेकेदारले ठगेको कामदारहरूको भनाइ छ ।

काम सकेर योजना सञ्चालनमा आइसकेका छन् । ठेकेदार रसाइली सम्पर्कमा छैनन्,दलबहादुरले भने, ‘ठेकेदारको खोजी गरेर कामदारको पारीश्रमिक उपलब्ध गराइदिनुपर्ने माग गरेका छौं ।’ उनले कामदारको श्रम शोषण गर्ने ठेकेदारले कार्वाहीको दायरामा ल्याउनुपर्ने माग समेत गरेका छन् ।

डोल्पाको जगदुल्लामा ४० जना र सिंजाको जाँचमा ७१ जना कामदारले काम गरेका थिए । यी दुबै स्थानको ठेक्का रसाइलीले नै लिएका थिए । लामो समयसम्म पारीश्रमिक पाउने आशामा बस्यौं,दलबहादुरले भने, ‘अहिले सम्पर्कविहिन भएपछि मात्रै ठगिएको थाहा भयो ।’

उनीहरूले ठेकेदारविरूद्ध छानबिन गरेर कार्वाही गर्न समेत माग गरेका छन् । 'हामीले श्रमको मुल्य पाएनौं । जसले हामीलाई अन्यायको अनुभुति दिलायो । पहिले फोन गर्दा घण्टी गइरहन्थ्यो तर उठ्थेन, दलबहादुरले भने, ‘अहिले त फोन नलाग्ने बनाइसके । यसले श्रम गरेर परिवारको पेट पाल्ने कामदार माथि ठुलो अन्याय भएको छ ।’


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।