सुदूरपश्चिममा २० लाखभन्दा बढी बिरूवा वितरण, संरक्षणमा चासो नदेखिँदा वन अधिकारी चिन्तित

श्रावण २, २०८२ |हरिश्चन्द्र बाग
सुदूरपश्चिममा २० लाखभन्दा बढी बिरूवा वितरण, संरक्षणमा चासो नदेखिँदा वन अधिकारी चिन्तित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशभर आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २० लाखभन्दा बढी बिरूवा वितरण गरिएका छन् । तर, तीमध्ये धेरै बिरूवाको संरक्षणप्रति नागरिकहरूले अपेक्षित चासो नदेखाएकोप्रति वन अधिकारीहरूले चिन्ता व्यक्त गर्नु भएको छ । 

त्यही सन्दर्भमा कञ्चनपुरको कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाले हालै ८५ हजार बिरूवा निःशुल्क वितरण गर्न थालेको छ । हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलनका लागि सुदूरपश्चिम प्रदेशभर आर्थिक वर्ष २०८१/८२ मा २० लाखभन्दा बढी बिरूवा वितरण गरिए । तर, रोपिएका ती बिरूवामध्ये धेरै संरक्षणविहीन छन् । रोप्ने अभियान त छ, तर जोगाउनेतिर सबैको ध्यान पुग्न सकेको छैन ।

यही चिन्तालाई सम्बोधन गर्ने उद्देश्यसहित कञ्चनपुरको कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाले हालै ८५ हजार बिरूवा निःशुल्क वितरण अभियान सुरू गरेको छ । उक्त अभियानमा पालिकाले समेत सहकार्य गरिरहेको छ ।

बिरूवा रोप्नु मात्रै समाधान होइन, त्यसको संरक्षण र अनुगमन पनि अत्यावश्यक छ । पचकडिया नर्सरीमा उत्पादन गरिएका गोल्ड मोहर, वीरेन्द्र फूल, राजवृक्ष, टिक, मसला, अमला, बकाइनो, अम्बा, जामुन, सिसौ, मोरिंगा, कपूर र निमजस्ता बिरुवाहरू वितरण गरिँदै छन् । बिरूवा पाउनका लागि नागरिकले आवश्यक कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

जनस्तरसम्म वृक्षरोपणको पहुँच पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले वातावरण संरक्षणप्रति चेतना जगाउने विश्वास लिइएको छ । तर रोपेर मात्र होइन, जोगाउन सकिए मात्रै हरियाली वातावरणको भविष्य सुनिश्चित हुनेछ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।