घूस मोलमोलाइमा मुछिएका सामान्य प्रशासनमन्त्रीलाई कारबाही गर्न संसद्‌मा माग

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
घूस मोलमोलाइमा मुछिएका सामान्य प्रशासनमन्त्रीलाई कारबाही गर्न संसद्‌मा माग

काठमाडौं । सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले घुस मोलमोलाइमा मुछिएका सामान्य प्रशासनमन्त्रीलाई कारवाही गर्न र घटनामा जोडिएका अरु मन्त्रीबारे पनि छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसदहरुले घुस प्रकरणमा तानिएका मन्त्रीमाथि छानबिन गर्न र त्यसबारे जवाफ प्रधानमन्त्रीले दिन माग गरे ।

नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले मन्त्रीको संलग्नताबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

राप्रपाका सांसद राजेन्द्र लिङदेनले भ्रष्टाचार र बेथितिको प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाउनुभयो । उहाँले सरकारको संरक्षणमा भ्रष्टाचार भइरहेको कुरा कास्की मालपोत कार्यालय र भूमि आयोगसम्बन्धीको अडियोले पुष्टि गरिसकेको दाबी गर्नुभयो ।

संघीय मामिलामन्त्री राजकुमार गुप्ता, भूमिमन्त्री बलराम अधिकारी रगृहमन्त्री रमेश लेखकमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न समेत उहाँले माग गर्नुभयो ।

एमाले सांसद किरण साहले भ्रष्टाचारमा तानिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.