काठमाडौं । गत मंगलबार ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीले रसुवागढीस्थित मितेरी पुल मात्रै बगाएन, नदी किनारका बासिन्दाको उठिवास पनि लगायो ।
घटना बिहान करिब ३ बजेको भए पनि नेपाली संयन्त्रले साढे ३ बजे आसपास मात्र थाहा पायो । ढिलो सूचना पाउनुको कारण हो- सीमा क्षेत्रमा बाढी तथा वर्षा मापन उपकरण पर्याप्त नहुनु र भएका पनि बिग्रनु । अर्कोतर्फ हिमतालहरूको नियमित निगरानी नहुनाले तटीय क्षेत्रका नागरिक प्रभावित भएका हुन् ।
जल तथा मौसम विज्ञान विभागलाई मंगलबार ३ बजेर ३० मिनेटतिर मात्रै भोटेकोशीमा बाढी आएको थाहा भयो । जबकि आधा घण्टाअघि नै हिमताल विस्फोट भएको अनुमान छ । नेपाल-चीन सीमाबाट ३६ किलोमिटर पूर्वोत्तरको हिमताल विस्फोट भएपछि आएको लेदोसहितको बाढीले मंगलबार बिहान रसुवा, नुवाकोट क्षेत्रमा उपद्रव मच्चाइसके पछि सरकारी संयन्त्रले चाल पायो ।
बाढी रसुवागढी हुँदै भोटेकोशी नदीमा मिसिएर टिमुरे हुँदै स्याफ्रुबेंसी पुग्दासम्म सरकारी निकायलाई किन थाहा हुन सकेन ? कारण हो- रसुवागढीमा बाढी मापन उपकरण नहुनु र टिमुरेमा भएको सूचना उपकरण बिग्रनु ।
रसुवागढीमा मात्र होइन, नेपाल-चीन सीमावर्ती क्षेत्रमा कतै पनि वर्षा, बाढी वा हिउँ मापन उपकरण छैनन् । रसुवागढीभन्दा ४ किलोमिटर तल टिमुरेमा रहेको नदिको जलस्तर मापन गर्ने मेसिन - गेजरिडर पनि केही महिनादेखि बिग्रिएको थियो । बनाउन विभागले चासो पनि दिएको थिएन । जसकारण करिब १० मिनेट ढिलो बाढीको जानकारी पाएको विभागको स्वीकारोक्ति छ ।
बाढीको सूचना १० मिनेटमात्रै अगाडि पाएको भए पनि यति ठूलो जनधनको क्षति नहुन सक्थ्यो । अर्कोतिर नेपालले हिमतालको नियमित निगरानी गर्न सकिरहेको छैन । सन् १९७७ यता नेपालमा दुई दर्जनभन्दा बढी हिमताल विस्फोट भइसकेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र- इसिमोडको अध्ययनले पनि यो शताब्दीको अन्त्यसम्म हिमताल फुट्ने घटना तीन गुणाले बढ्न सक्ने र सन् २०५० बाट हिमताल विस्फोटको उच्च बिन्दुमा पुग्ने देखाएको छ ।
इसिमोड र यूएनडीपीले नेपालमा २१ हिमताल अति जोखिमको सूचीमा राख्दा मात्रै दुई वटा हिमतालहरू इम्जा र च्छो रोल्पाको मात्रै नियमित निगरानी भइरहेको छ । अचम्म त के छ भने हिमताल विस्फोट भएर थामेमा आएको बाढी होस् वा हुम्लामा हिमताल दबिएर आएको बाढी होस् । वा रसुवाको यो घटना । यी कुनै पनि हिमताल अति जोखिमको सूचीमा थिएनन् । अझ नेपाली सिमाबाहिर रहेका हिमतालका बारेमा त जानकारी हुने त कुरै भएन।
त्रिशूली बेसिनमा सन् १९९० देखि २०२० सम्ममा १६ प्रतिशतले नयाँ हिमताल बनेको अध्ययन भएको छ । ३२ प्रतिशतले हिमतालको आकार पनि बढेका छन् । सन् २०२३ मा पनि हाल विस्फोट भएको क्षेत्रमा पानीको सतह देखिएको भएपनि त्यसबेला पनि हिमताल पग्लिएर सुकेको पाईएको छ ।
पुन: पानीको सतह बढ्दा यसपटक विनासकारी क्षति पुर्याएको देखिन्छ । त्यसो त सन् २०२३ मा इसिमोडले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा हिन्दू कुश क्षेत्रमा २५ हजारभन्दा बढी हिमतालहरू रहेको र त्यसमध्ये ४७ सम्भावित खतरनाक हिमतालहरू नेपाल, चीन र भारतमा कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा रहेको उल्लेख छ ।
एकातिर हिमताल बन्ने र विस्फोटको घटना बढ्न थाल्नु अर्कोतिर ती हिमतालको निगरानी त कहाँ हो कहाँ बाढी र वर्षाकै पनि मापन प्रभावकारी नहुनुले विपद्मा मानवीय क्षति बढ्दै गएको छ । हिमताल विस्फोट राष्ट्रिय मात्र नभई अन्तरदेशीय विपद् हो ।
हालको अवस्थामा चीन र नेपालबीच विपद्लाई लिएर सरकारी स्तरमा सूचना आदानप्रदान हुने गरेको छैन । तथापि, दुई देशका स्थानीय तहहरूबीच भने यदाकदा मेसेजिङ एप ‘विच्याट’मार्फत सूचना सम्प्रेषण भएको देखिन्छ ।
यो घटनापूर्व तिब्बतमा अत्यधिक वर्षाको सम्भावना रहेको सूचना चिनियाँ पक्षले रसुवा प्रशासनलाई विच्याटको संवादमा उपलब्ध गराए पनि हिमताल विस्फोटसँग चिनियाँ सूचना नमिलेको मौसम विभागको दाबी छ ।
त्यसैले चिनियाँ पक्षसँग सञ्चारको दायरा बढाउन त अत्यावश्यक छ नै, हाम्रो आफ्नै विपद् सूचना प्रणालीमा व्यापक सुधार हुनु जरूरी छ।