जुम्लाको धिमीचौर बन्यो पर्यटनको नयाँ गन्तव्य, सयौं थरिका फूलदेखि मनोरम दृश्य मुख्य आकर्षण

असार २५, २०८२ |डीबी बुढा
जुम्लाको धिमीचौर बन्यो पर्यटनको नयाँ गन्तव्य, सयौं थरिका फूलदेखि मनोरम दृश्य मुख्य आकर्षण

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-४ स्थित धिमीचौर पाटन अहिले आन्तरिक तथा बाहृय पर्यटकको नयाँ गन्तव्य बनेको छ । 

पाटनमा फूलेका फूलहरूको सुगन्ध लिनेदेखि अनगिन्ती मनोरम दृश्यले भरपुर यो ठाउँले पर्यटकको मन आनन्दित पार्छ । सदरमुकाम खलंगादेखि झण्डै एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौरमा अहिले निकै चहलपहल छ ।

वारीपटि्ट विशाल चेरेचौर, बीचमा कलकल बगिरहने घुघुत्ती खोला, घना जंगलको बीचैमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर । अहिले धिमीचौरको अवलोकन गर्न जाने आन्तरिक तथा बाहृय पर्यटक हृवातै बढेका छन् । केही दिउँसो घुमफिर गरेर बेलुकी खलंगा बजार र्झछन त केही राति पाल हालेर धिमिचौरमै बस्छन् ।

सयौँ थरिका फूल, दर्जनभन्दा बढि जडीबुटी, खर्सुलगायतका थरिथरिको प्रजातिका ठिंग उभिएका रूखहरू, धिमीचौरमा बस्दा लाग्छ यो बेग्लै संसार हो । अहिलेको चहलपहल त सामान्य हो साउन भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ । शुक्रबार र शनिबार झन घुँइचो हुन्छ ।

धिमीचौरको बीचमा भैासी गोठ तथा भेडी खर्कहरू छन् । चौरभरी पशु चरिरहेको दृश्यले झनै मन लोभ्याउँछ । गोठालाहरूले खर्कमा बनाइरहने दूध, दहीको स्वाद झनै सम्झनायोग्य रहन्छ । स्थानीय सरकारले चासो दिने हो भने चिसो हावापानी, फूलहरूको सुगन्ध, डाँडाकाँडाले घेरिएको धिमीचौर आयआर्जनको राम्रो स्रोत बन्ने देखिन्छ ।

धिमीचौरको प्राकृति सुन्दरताले खिाचिएर त्यहाँ पुग्नेलाई बासको भने समस्या छ । पर्यटकले खाएर फ्याँकेका समानहरू डम्पिङ गर्ने ठाउँ छैन् । जसले प्रदूषण बढाएको छ । धेरै अघिदेखि नगरपालिकाले पर्यटकीय पूर्वाधार बनाउने भने पनि सुरूवात नै हुन सकिरहेको छैन् ।

अहिले जुम्ला खलंगादेखि रारा जाने र राराताल गएर फर्किने पर्यटकसमेत एकपटक धिमीचौर पुगेर फर्किने गरेका छन् । धिमीचौर पुग्नेहरूले बनाएका टिकटक भिडियो तथा रिलहरूले यसलाई चिनाउन थप मद्दत गरेको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।