गोरखा । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कहिले सुरू हुने निश्चित छैन । तर डुबान हुने भनिएको गोरखाको उत्तरी नाकाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार सुनसान भइसक्यो ।
कम्पनीमार्फत आयोजना निर्माण गर्ने गरी २०८० साउनमा गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय स्थापना भए पनि अगाडिका कामबारे अन्योल छ ।
जलाशययुक्त यो आयोजना बन्दा आसपासका क्षेत्र कहिले डुब्छन् भन्ने पनि पनि निश्चित छैन । तर प्रस्तावित क्षेत्रका बजारहरू केही वर्षअघिदेखि सुनसान बन्दै गएका छन् । त्यसैमध्येको एक हो गोरखाको आरुघाट । यो बजार दुई सय वर्षभन्दा अघिदेखि उत्तरी गोरखाको व्यापारिक केन्द्र थियो । ६ सय ५० घरधुरी र १ सय ७० भन्दाबढी पसलहरू रहेको आरुघाट बजारमा धमाधम सटरहरू बन्द हुनथालेपछि सुनसान बन्दैगएको छ ।
डुबान क्षेत्रका बजार र बस्तीलाई अन्यत्र सार्ने आश्वासनसहित प्रभावितलाई मुआब्जा दिइएको थियो । तर अहिलेसम्म वैकल्पिक बजार र बस्ती बसाउने क्षेत्रको टुंगोसमेत लागेको छैन । बुढीगण्डकी परियोजनाको लागि पुस्तौंदेखिको थातथलोसँगै व्यापार व्यवसाय छाड्न तयार हुँदा पनि अहिलेसम्म कार्य प्रगति नभएकोमा स्थानीयको ठूलो गुनासो छ ।
यो आयोजना बन्दा गोरखाका ४ र धादिङ्गका ६ गरी १० वटा स्थानीय तहको झण्डै ४९ हजार रोपनी क्षेत्रफल डुबानमा पर्दछ ।
त्यसले ३ हजार ५ सय ६० घरधुरी पूर्णरूपमा र १२ हजार घरधुरीलाई आंशिकरूपमा विस्थापित गर्नेछ । डुबान क्षेत्रमा स्थायी संरचना निर्माण गर्न नपाउने र पुनर्स्थापना क्षेत्र निर्धारण नहुँदा स्थानीय सरकारले प्रशासकीय भवन, अस्पताल, बाटो, खानेपानीलगायतका विकास परियोजना सञ्चालन गर्न पाएको छैन ।
कम्पनीमार्फत आयोजना निर्माण गर्ने गरी २०८० साउनमा गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय स्थापना गरेको छ ।
तर त्यस अगाडिका कामहरूको बारेमा अन्योल छ । विद्युत विकास विभागले सन् १९८२ देखि १९८४ सम्म सम्भाव्यता अध्ययन गरेको यो आयोजनाको डिपीआर सन् २०१५ मै तयार भएको हो । १२ सय मेगावाट क्षमताको जलाशययुक्त यो आयोजना निर्माण शुरु भएको ८ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।