संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत मंगलबार दुबै सदनको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।  

प्रधानमन्त्री के.पी. शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अध्यक्षले पूर्वप्रतिनिधि सभा सदस्य गोविन्दप्रसाद शर्मा र संविधान सभा सदस्य रामअयोध्याप्रसाद यादवको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.