रसुवा बाढीको प्रभाव : बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइयो, सुरक्षा ब्रिफिङ मात्र हुँदै

असार २४, २०८२ |पुजन धिताल
रसुवा बाढीको प्रभाव : बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइयो, सुरक्षा ब्रिफिङ मात्र हुँदै

काभ्रे । धुलिखेलमा मंगलबार बसेको बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ निर्धारित तालिकाअनुसार पूर्ण रूपमा सम्पन्न हुन सकेन । 

रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १८ जना बेपत्ता, जसमध्ये केही सुरक्षाकर्मी समेत वेपत्ता भएपछि गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेका हुन् ।

गोष्ठीको उद्घाटन सत्र बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेले गर्नु भयो ।

प्रमुख अतिथि गृहमन्त्री रामेश लेखक हुनुहुन्थ्याे भने बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह तामाङ, सुरक्षा निकायका केन्द्रीय प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सुरक्षा गोष्ठी छोट्याउनु पर्ने जानकारी स्वयं गृह मन्त्रालयका सहसचिव रमेश तिवारीले दिँदै भन्नुभयाे, “रसुवामा गएरातिदेखि उद्धारमा खटिएको टोली अझै सक्रिय अवस्थामा छ, सुरक्षाका उच्च तहका अधिकृतहरू तत्काल प्रभावित क्षेत्रमा पुग्नु पर्ने भएकोले बैठक छोट्याउनु परेको हो ।”

बैठकमा आयोजना गर्न लागिएको अन्तर जिल्ला समन्वय सत्र र अन्य प्रस्तुतिहरू स्थगन गरिएको भए पनि पूर्वनिर्धारित सुरक्षा ब्रिफिङ सत्र भने सञ्चालन गरिएको छ । उक्त ब्रिफिङमा प्रदेशस्तरीय सुरक्षाका रणनीति, विपद् व्यवस्थापन, आपतकालीन तयारी, जिल्लास्तरीय समन्वय र सूचनाको प्रवाहबारे छलफल गरिएको थियो ।

बैठकमा सहभागी अधिकांश सुरक्षा अधिकारी र प्रशासनिक पदाधिकारीहरूले रसुवाको अवस्था तत्काल हेर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यक्रम छोट्याउने निर्णयलाई समर्थन गरेका थिए । 

बाढीको तत्कालिन स्थिति, मानवीय क्षति, वेपत्ता सुरक्षाकर्मीको अवस्थासहित गृह मन्त्रालयले प्रमुख विषयवस्तुहरूलाई तत्काल समन्वय गरी निष्कर्ष निकालेको बताइएको छ ।

सुरक्षा ब्रिफिङ सकिएसँगै सञ्चारकर्मी सँग बसेर अन्तरजिल्ला सुरक्षा समितिको बैठक सँग सम्बन्धित जानकारी गराइनेछ भने सुरक्षा ब्रिफिङका बखत सञ्चारकर्मीलाई बैठकमा रोक लगाइएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।