काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्का सदस्यको नाम अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट सिफारिस मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेलको नाम अनुमोदन गरेको हो । यस्तै बैठकले न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्छ भने पोखरेल वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।
तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गर्न बसेको सुनुवाइ समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बहिष्कार गरेको थियो । न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै माओवादी केन्द्रले बैठक बहिष्कार गरेको जनाएको छ ।
समितिले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाको ध्यानाकर्षण पनि गराएको छ ।