
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ५, चर्चरे र गौडेपुलको बीचमा तीन वर्षअघि खसेको पहिरो समयमै नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्ग जोखिममा परेको छ । सिद्धार्थ राजमार्गबाट डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनमा सडक डिभिजन पाल्पाले समयमै ध्यान नदिँदा सडकमा सवारी साधन एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
समयमै पहिरो व्यवस्थापन नभएपछि राजमार्ग जोगाउन एक महिनादेखि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा प्लास्टिक बिछ्याइएर राखिएको छ । समयमै पहिरो नियन्त्रणको काम नहुँदा वर्षायाम सुरु भएसँगै सबै सडक खोलामा खस्ने त्रास बढेको स्थानीय बासिन्दाले जानकारी दिए ।
सडक डिभिजन पाल्पाले समयमै पहिरो नियन्त्रणको काम गरेको भए सडक बच्ने सम्भावना रहेको स्थानीयको गुनासो छ । ठेक्का भएपछि तत्कालै निर्माण व्यवसायीले निर्माणको काम गरेको भए सडकको पहिरो रोकिन सक्थ्यो ।
सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मतसुधार गर्न ६ महिनाअघि ठेक्का गरेको थियो । चर्चरे क्षेत्रको पहिरो व्यवस्थापन गर्न भगवती कन्स्ट्रक्सन बुटवललाई ४२ लाख रुपैयाँ स्टिमेटसहित ठेक्का लगाएको थियो ।