भोजपुर घटनाका मृतक चारै जनाको शव पोस्टमोर्टमका लागि धरान पठाइने

असार २२, २०८२ |दीपेन्द्र शाक्य
भोजपुर घटनाका मृतक चारै जनाको शव पोस्टमोर्टमका लागि धरान पठाइने

संखुवासभा । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ मा शनिबार राति हत्या भएका एकै परिवारका चार सदस्यको शव पोस्टमोर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने भएको छ । जिल्ला अस्पताल भोजपुरमा पोस्टमोर्टम नहुने भएपछि धरान पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

अहिले मृतकको शव जिल्ला अस्पताल भोजपुर ल्याइएको प्रहरीले जनाएको छ । उनीहरूको शव सोमबार धरान पठाइने छ । घटनास्थल सदरमुकाम भोजपुरबाट करिब ३२ किलोमिटर टाढा पर्छ । कच्ची सडक भएकाले मृतकको शव ल्याउन समस्या भएको थियो ।

हत्यामा संलग्न ज्वाँइ राजेन्द्र राईलाई घाइते अवस्थामा भेटिएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई सकिएको छ । राजेन्द्रको अवस्था पनि गम्भीर छ । प्रहरीका अनुसार राजेन्द्रले ससुरा ६८ वर्षीय बेलबहादुर, सासू ४५ वर्षीया मञ्जु, श्रीमती १६ वर्षीया मनीषा र ९ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । हत्यापछि प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए ।

मनीषा र राजेन्द्रको नौ महिना अगाडि प्रेम विवाह गरेका थिए । तर ससुराली पक्षले यो विवाहलाई सहजरूपमा मानेको थिएन । प्रजिअ पन्थीका अनुसार हत्या हुनुमा पारिवारिक कलह देखिएको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।