खोटाङ । दिक्तेल-गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्न घिर्नी जडान गरिएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्ष असोज १२ गते आएको बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो ।
गत पुस २७ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज पनि नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । बेलीब्रिजसमेत झिकिएपछि विकल्पमा घिर्नी जडान गरिएको हो ।
विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा-पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ-रेग्मी-चुरिया जेभीका ठेकेदार महेश रेग्मीले जानकारी दिनुभयो ।
“रसुवा-पाँचधारे सडकअन्तर्गत रसुवा-सिम्पानी १५ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । जसका लागि सामान ढुवानी गर्न सुनकोशीमा घिर्नी जडान गरिएको हो”, उहाँले भन्नुभयो, “आवश्यक परेको खण्डमा दैनिक उपभोग्य सामान पनि तार्न सकिन्छ ।”
फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल-गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । वर्षा लागेसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्णरूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो ।
सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल-फोक्सिङटार-गाईघाट सडक खोटाङबाट पूर्वी तराई आउजाउ गर्ने छोटो दूरीको सडक हो । फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि लामो दूरीको घुर्मी-कटारी सडकखण्ड हुँदै पूर्वी तराई आवतजावत हुँदै आएको छ।