धनगढी । अविरल वर्षाले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। वर्षाले यहाँका केही बस्ती डुबानमा परेका छन्।
कञ्चनपुरको कृष्णपुर, पुनर्वास र भीमदत्तका केही घर डुबानमा परेका छन्। डुबान प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय ६७ मिलिमिटर र कैलालीमा २ सय २ दशमलब २ मिलिमिटर वर्षा मापन भएको छ । जोखिम भएकाले सावधानी अपनाउन विभागले सबैमा आग्रह गरेको छ । अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना र अन्य ४ जना गरेर प्रहरीले ८ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
यसैगरी पुनर्बासमा एउटा घर तथा बेदकोट र भीमदत्तको सिमानामा पाँच वटा घरमा पनि बाढी पसेको छ । तर मानवीय र ठूलो भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरूमा भारी वर्षाका कारण डुबान भएको छ । जसले गर्दा स्थानीयहरू प्रभावित भएका छन्। वडा नम्बर ८ र १२ लगायतका क्षेत्रका घरहरूमा पानी पसेर लाखौंको क्षति भएको छ । त्यहाँ रहेका फर्निचर र खाद्यान्न लगायतका सामग्रीहरूमा क्षति पुगेको छ।
उता धनगढी-१२ पुरै डुबानमा छ। बजारको मुख्य सडक पनि डुबानमा छ। खोला तथा नदीहरुमा पानीको बहाव बढेपछि डुबान भएको हो।
अविरल वर्षाले सुदूरपश्चिमका तराईका जिल्लाहरूमा डुबानको समस्या रहेको र सुरक्षाकर्मीहरूले उद्धार कार्य गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। अहिलेसम्म ठुलो क्षतिको घटना भने नभएको र विपदको समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ ।