काठमाडौं । स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पहिरोले क्षतिग्रस्त बनाएको दुवै बालुवा थिग्र्याउने पोखरी मर्मत सकिएसँगै २४ सै घण्टा पूर्ण क्षमतामा उत्पादन थालेको छ ।
गत वर्षको असोज ११ गतेको बाढीपहिरोले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो जलविद्युत केन्द्रको दुवै बालुवा थिग्र्याउने पोखरी अर्थात् डिस्यान्डरमा क्षति गरेको थियो ।
बालुवा थिग्र्याउने दुई पोखरीमध्ये बायाँतर्फको डिस्यान्डर मर्मत गरेर बाँधका सबै ढोका खोली बिजुली उत्पादन गभइरहेको थियो । दायाँतर्फको डिस्यान्डर पनि मर्मत भएपछि आयोजनाले बाँधस्थलमा पानी भरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको प्रबन्धक पूर्णगोपाल रञ्जितले बताउनुभयो ।
बिहिबार अपरान्हदेखि माथिल्लो तामाकोशी जलविधुत आयोजनाले २४ सै घण्टा ४ सय ५६ मेगावाट बिजुली उत्पादन गरिरहेको उहाँले बताउनुभयो । दुवै डिस्यान्डर पूर्णरूपमा मर्मत हुन भने अझै ४५ दिन लाग्ने अनुमान छ ।
यस्तै पहिरोले क्षति गरेको भूमिगत नहरको मर्मत भइसकेको छ भने विद्युत नियन्त्रण कक्ष पनि निर्माण भइरहेको छ ।