काठमाडौं । श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ बिहिबारदेखि सञ्चालानमा ल्याइएको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट बिहिबार शुभारम्भ गर्नुभएको हो ।
यो एपमा विदेशमा रहेका नेपालीहरूले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।
यो विवरण प्राप्त भएपछि नेपालीहरू रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरूको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ । परराष्ट्र मन्त्री डा. राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरू सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरू मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताउनुभयो ।
साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरूलाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उहाँहरूलाई सहज हुने पनि मन्त्री डा. राणाले बताउनुभयो ।
मन्त्री डा. राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याहरूको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरू गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीहरूका समस्याहरू धेरै आउन थालेकाले उहाँहरूको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको जानकारी पनि दिनुभयो ।
श्रममन्त्री शरत् सिंह भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताउनुभयो ।
उहाँले नेपालीहरू को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजविहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकहरूलाई यसले ठूलो सहायता प्रदान गर्ने उहाँको भनाइ थियो ।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीहरूले आफ्नो विवरण भने भर्नुपर्नेछ ।