नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको छ : राष्ट्रपति पौडेल

असार ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताउनुभएको छ । 

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको भन्दै नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । 

उहाँले हाम्रो कला, संस्कृति, संगीत र नाट्यको संरक्षण, सम्वर्द्धन गरी विश्वव्यापीकरणतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै नेपाली मौलिक भाका, राग र अभिनय शैलीले संसारकै ध्यान तान्न सक्ने स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक परिवर्तनसँगै कलाप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन भएर नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठान जस्ता विभिन्न विधागत प्रज्ञाप्रतिष्ठान स्थापना हुन सम्भव भएको बताउनुभयो । 

उहाँले समय र समाज गतिशील भएजस्तै समय र समाजको ढुकढुकी प्रतिविम्बित हुने गीतसंगीत, कला र संस्कृतिले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताउनुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल संगीत तथा नाट्या दिर्घ साधना सम्मानबाट वरिष्ठ गायक दिप श्रेष्ठलाई, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापालाई, संगित विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तानलाई, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेद कुमारी न्यौपानेलाई, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठलाई, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्ण प्रसाद पौडेललाई, लोकसंगत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझीलाई, परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ कुशेश्वर राईलाई र वाद्यबादन विधातर्फ वरिष्ठ वाद्ययवादक राजु अग्रवाललाई सम्मान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित