काठमाडौं । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा सैद्धान्तिक छलफल सुरू भएको छ ।
समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले यो विधेयक असारभित्रै पारित गरेर संसद्मा पठाउन आग्रह गर्नुभयो । उहाँले प्रहरी विधेयक सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले नेपाल नागरिकता विधेयक भने असार १४ गते प्रतिनिधि सभाबाट पारित गरिने बताउनुभयो । विधेयकहरू अड्काएर राख्न नहुने र छिटोछिटो पारित गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय प्रहरी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले सरोकारवाला र सम्बन्धित सबैका सुझाव लिएर विधेयकमाथि दफाबार छलफल गर्नुपर्ने बताउनुभएको हो ।
ढिलो गरी भए पनि सरकारले यो विधेयक अघि बढाएकाले अब यसमा व्यापक छलफल गरी परिमार्जनसहित पारित गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइका कारण विधेयक अघि बढ्न नसकेको आरोप लगाउनुभयो । उहाँले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विधेयक पनि सँगसँगै छलफलमा ल्याएको भए अझै राम्रो हुने बताउनुभयो ।