काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गर्नुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो ।
जसबारेमा आफ्ना धारणा राख्दै उहाँले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको उहाँले बताउनु भयो ।
उहाँले एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको बताउनु भयो । कुनैपनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआईजी स्वतः आईजीपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने उहाँकाे भनाइ छ ।
सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याउनुभएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिनुभयो । यो विधेयक समय र परिस्थितिसँग मिल्दो रहेको उहाँको भनाइ छ ।