काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाउनुभएको छ ।
बुधबार सिंहदरबारमा 'नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले दौरा शुरूवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो ।
उहाँले पूर्व तथा निःवर्तमान प्रहरीका आइजीपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताउनुभयो ।
उहाँले आफूहरूले जनतालाई सुशासन दिनुपर्ने बताउँदै जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरीहरूले सांसदको लोगो लगाउँदा पनि नचिनेको भन्दै गुनासो गर्नुभयो ।