काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्न राजनीतिक तहबाट वातावरण नबनेको उहाँको टिप्पणी छ ।
राजनीतिक हस्तक्षेपका कारण प्रहरी संगठन दबाबमा रहेको कारण अपराध अनुसन्धान र शान्ति सुरक्षामा बाधा पुगेको सांसद गिरीको भनाइ छ । उहाँले प्रहरी संगठन सिमित स्रोत र साधनका बाबजुद पनि मुलुकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान दिइरहेको पनि बताउनु भयो ।
उहाँले अब बन्ने ऐनले राजनीतिक पहुँच बिना पनि प्रहरी अधिकृतहरूको सरुवा र बढुवा पारदर्शी ढंगले हुने प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो ।
बन्दै गरेको ऐनले प्रहरी अधिकारीले बढुवा हुनको लागि नेताको घर धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।