संखुवासभा । तत्कालीन नेकपा माओवादीको १० वर्षे द्वन्द्वमा वेपत्ता भएका परिवार अझै न्याय पाउने आशामा छन् । बेपत्ता पारिएका व्यक्तिका घरपरिवार, आफ्ना हराएका आफन्त फर्किन्छन् की भनेर कुरेर बसेका छन् ।
विस्तृत शान्ति सम्झौतामार्फत् द्वन्द्व अन्त्य भएको २० वर्ष लागेपनि अझै पीडितहरूले न्याय पाउन नसकेको विषयमा सचेत हुन सरकारलाई पीडित परिवारले आग्रह गरेका छन् ।
संखुवासभा पाँचखपन नगरपालिका-७ का पदमबहादुर दर्जी बेपत्ता हुनु भएको ३० वर्ष भयो । २०५२ सालमा गाउँबाटै हराउनु भएका दर्जी अझै भेटिनु भएको छैन ।
परिवारले उहाँको खोजीका लागि त्यतिबेला सबैको ढोका घच्घच्यायाएका थिए । पाँचखपन-७ का अम्बरबहादुर कालिकोटे र अर्का अम्बरबहादुर कटुवाल पनि बेपत्ता भएको २४ वर्ष बित्यो । द्वन्द्वका बेला सुराकीको आरोप खेपेका कटुवाल २०५८ चैतमा बेपत्ता हुनु भयो ।
बेपत्तासम्बन्धि ऐनमा कार्यसमिति नियुक्त भएको ३ महिनाभित्र उजुरी दिन पाउने व्यवस्था गरिएको छ । बेपत्ता आयोगले आगामी भदौ ५ सम्म उजुरी दिने समय तोकेको छ ।
उजुरी दर्तापछि न्यायपूर्ण ढङ्गले काम गर्ने योजना बेपत्ता आयोगले तयारी गरेपछि जिल्ला समन्वय समिति संखुवासभाले बेपत्ताहरूको नाम संकलनका लागि १० वटै स्थानीय तहमा पत्राचार गरिसकेको छ ।
द्वन्द्वको अन्त्य भएको २० वर्ष बितिसक्दा पनि वेपत्ता परिवारको चित्कार सरकारले सुन्न सकेको छैन । बेपत्ता भएका परिवारका आफन्तले भन्दै आएका 'कि लास कि स्वास’ चाहियो भन्ने जाागर समेत उनीहरुमा मारिसकेको छ ।