कपिलवस्तु । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा नयाँ पाहुना भाले गैंडा माइला र पोथी गैंडा पूजालाई ल्याइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिना उमेरको माइला र ३ वर्ष उमेरको पूजालाई नयाँ सदस्यका रूपमा चिडियाखाना ल्याइएको हो । अब यहाँ तीन वटा गैंडा हेर्न पाइने भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा २०८१ असोजमा बाघको आक्रमणबाट माउसँग बिछोडिएपछि टुहुरो बनेको माइलालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालयमा हुर्काएर सदर चिडियाखाना ल्याइएको चिडियाखानाका सिनियर क्युरेटर अशोक सुवेदीले बताउनुभयो ।
माईलासँगै पोथी पूजालाई पनि सँगै चिडियाखाना ल्याउने कार्यक्रम थियो । पूजा ट्रकभित्र रहेको खोरमा पस्न नमान्दा केही ढिलो गरि चिडियाखानामा ल्याइएको सुवेदीले बताउनुभयो । करिब ३ वर्ष उमेरकी पूजा भने २०७९ मा बाघको आक्रमणबाट चितवन निकुञ्जमा माउसँग बिछोडिएर टुहरो बनेकी थिइन् । पूजालाई पनि सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालयमा हुर्काएर राखिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष- एनटीएनसीद्वारा संचालित ललितपुरस्थित सदर चिडियाखानामा रहेका दुई गैंडामध्ये एउटा ६ महिनाअघि बिरामी भएर मृत्यु भएको थियो । त्यसपछि माइला र पूजालाई ल्याइएको हो । अहिले चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ ।