काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका उच्च तहका पदाधिकारी समेत जोडिने केही तथ्य फेला पारेको छ । अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको अख्तियारले बरामद गरेका मोबाइल परीक्षण गर्दा गृह मन्त्रालयका उच्च पदाधिकारी समेत जोडिने तथ्य फेला परेको स्रोतको दाबी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले रकम असुल गरेर नेपालीलाई भिजिट भिसामा विदेश पठाएको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइलको फरेन्सिक रिपोर्ट संकलन गरेर अध्ययन गरिरहेको छ । सहसचिव भट्टराईसहित अन्य चार जना एजेन्टको मोबाइल परीक्षणको रिपोर्ट अख्तियारले प्राप्त गरिसकेको छ । त्यस क्रममा डिजिटल फरेन्सिक रिपोर्टको विश्लेषण गर्दा भिजिट भिसामा केही नयाँ तथ्य र प्रमाण भेटिएको हो ।
गृहमन्त्री रमेश लेखकको सचिवालयमा रहेका केही व्यक्तिसँग एजेन्टहरूको सम्बन्ध देखिएको र एउटै एजेन्टले पठाएको पैसा तिर्नेहरू उडेको तथा तिर्न नसक्नेहरू फर्काइएको तथ्य भेटिएको हो ।
भारतले नेपालबाट तेस्रो देश जाने भारतीयका लागि एनओसी लिनुपर्ने भने पनि अध्यागमनकै कर्मचारीको संलग्नतामा पैसा असुल गरेर पठाइएको केही तथ्य पनि भेटिएको छ । अख्तियारले भिजिट भिसामा जानेहरूको नक्कली कागजात बनाउने ट्राभल एजेन्सी तथा अन्य गिरोहहरूको सञ्जाल पनि खोजिरहेको छ ।
सोमबार मात्रै प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमा कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर राखेकोमा जवाफ माग गरेको थियो । अध्यागमनमै दरबन्दीभन्दा जनशक्ति पठाउने र अन्यलाई जिम्मेवारी समेत नदिएको देखिएपछि प्रधानमन्त्री कार्यालयले जवाफ माग गरेको हो ।