काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि तय बैठक सहज रुपमा सञ्चालन हुने-नहुने भन्नेमा अन्योल कायमै छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने विषयमा दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।
आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुनेछ । विपक्षी दलहरुको अवरोधका कारण राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुन सकेको छैन ।
उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उक्त प्रस्तावमा आज सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।