काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री समेतलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कुनै पनि गैरकानुनी र भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय नेतृत्वको संलग्ना नरहेको बताएको छ ।
“विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवं क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं”, विज्ञप्तिमा भनिएको छ ।
यस्तै मन्त्रालयले अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अनुसन्धान पूरा भएपछि सत्यतथ्य सबैको जानकारीमा आउने समेत बताएको छ । साथै अख्तियारले गर्ने छानबिन तथा अनुसन्धान कार्यमा पूर्ण सहयोग रहने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।