हुम्ला । गत जेठ १ गते राति हुम्लाको तिल गाउँमा आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । पहिरो गएको ८औं दिनमा घटनाको कारण पत्ता लगाउन विज्ञसहितको टोली हुम्ला पुगेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहीबार बिहान हुम्ला सुदरमुकाम सिमिकोट आएको हो । टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा रहेका छन् ।
विज्ञहरूको टोली हुम्ला आउने भनेर मंगलबार काठमाडौंबाट नेपालगन्ज प्रस्थान गरेको थियो । हवाई टिकट नपाएर नेपालगन्जमै रोकिएको अध्ययन टोली बिहीबार सिमकोट पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । घटनाको कारण अध्ययनका लागि सिमकोट पुगेको टोली आजै प्रभावित स्थल तिल गाउँतर्फ लागेको छ ।
झन्डै ५३ सय ५० मिटरको उचाइमा रहेको दुई वटा हिमताल दबिएर तिल गाउँमा बिनावर्षा एक्कासि बाढी आएको स्थानीयले बताएका छन् ।