काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा रहँदा भिजिट भिसामा विदेश जानेहरुसँग रकम असुलेको उजुरीका आधारमा भट्टराईलाई पक्राउ गरेको हो । अख्तियारले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारी केही कागजातसमेत नियन्त्रणमा लिएको छ ।
आयोगले अध्यागमन कार्यालय विमानस्थलबाट केही कम्प्युटर, केही उपकरण लगायतका सामग्री नियन्त्रणमा लिएको छ । विमानस्थलबाट भिजिट भिसामा विभिन्न देश जान आवश्यक कागजात तोकिएको छ ।
नेपालबाट जाने र फर्किने हवाइ टिकट, बस्ने होटल, आफन्त लगायतका विवरण खुल्ने कागजात देखाउनुपर्ने निर्देशिका छ । तर, भट्टराईले आर्थिक लाभ लिएर अनधिकृत रुपमा मानव तस्करको योजनाअनुसार भिजिट भिसामा जान लागेकाहरुलाई छाडेको उजुरी परेपछि अख्तियारले निगरानी बढाइरहेको थियो ।