काठमाडौं । संविधान संशोधनको विषय उठ्नासाथ शासकीय स्वरूप परिवर्तनको बहस भइरहँदा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने समानुपातिक निर्वाचनमा हेरफेर नहुने बताउनुभएको छ । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली बाधक रहेको भन्ने दाबीलाई प्रधानमन्त्रीको यो अभिव्यक्तिले भने खण्डन गर्छ ।
उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनलाई आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समानुपातिक निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको भएकोले सामान्यतः कसैको बहुमत नआउने स्वीकार गर्नुभयो । तर यही प्रणाली चुनेकोले फेरबदल नहुने उहाँको स्पष्टोक्ति छ ।
संसद्को पहिलो दल नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री ओलीले केही दिन यता राम्रो काम गरेर देखाउन एमालेलाई बहुमत चाहिने बताउँदै आउनुभएको छ । धेरैजसो दलका नेताहरूले राजनीतिक स्थायित्व र पाँच वर्षको स्थायी सरकारका लागि शासकीय स्वरूप बाधक देखाइरहँदा यही प्रणालीभित्रैबाट बहुमत ल्याउन एमालेले तयारी गरिरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
समानुपातिक प्रणाली स्वीकारेरै एमालेले २०८४ सालमा बहुमत ल्याउने उद्देश्य राखेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको यो भनाइले २०८४ सालसम्म संविधान संशोधन हुन्न र भए पनि समानुपातिक निर्वाचन प्रणाली फेरिँदैन भन्ने संकेत गर्छ ।