काठमाडौं । सगरमाथा संवादको पहिलो दिन जलवायु परिवर्तनको असर, जोखिम र न्यायका विषयमा छलफल भएको छ । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको संरक्षणमा ठोस कदम चाल्न विश्व समुदायसँग आग्रह गर्नुभयो भने सहभागी स्वदेशी र विदेशी वक्ताहरुले जलवायु परिवर्तनका असरहरू कम गर्न सरकारहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।
सरकारले ६ वर्षअघि नै सगरमाथा संवादको आयोजना गर्न खोजे पनि उति बेला कोभिड महामारीका कारण हुन सकेन । लामो समयको तयारीपछि काठमाडौंमा आज सुरु भएको सगरमाथा संवादमा भोलि शनिबार ४ विषयमा ९ वटा छलफल सत्र सञ्चालन हुनेछ भने संवाद आइतबारसम्म चल्नेछ ।
नेपाल र नेपालजस्ता देशले भोगिरहेको जलजायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गर्न र जलवायु न्यायका मुद्दा उठाउने उद्देश्यले काठमाडौंमा सुरु भएको सगरमाथा संवादका विश्व नेताहरूले विश्वव्यापी सहकार्यको आवश्यकतामा जोड दिएका छन् । उद्घाटन सत्रमा विश्व जलवायु सम्मेलन कप-२९ का अध्यक्ष मोक्तर बबइबले जलवायु परिवर्तन विश्वकै समस्या भएको उल्लेख गर्दै वित्त र प्रविधि हस्तान्तरण आवश्यक रहेको बताउनुभयो ।
उहाँले विश्वको सर्वोच्च शिखरमा सगरमाथा लगायतका हिमालमा जलवायु परिवर्तनको असर परिरहेकाले हिमाल र हिमाली अर्थतन्त्रको संवेदनशीलतासँग एकाकार हुन विश्व समुदायलाई आग्रह गर्नुभयो । उहाँले कार्बन उत्सर्जन बढी गर्ने देशहरूले कप-३० मा सहभागी हुँदा बाकु टु बेल्म वर्क प्रोग्राम पूरा गर्नुपर्ने बताउनुभयो । अजरबैजानको बाकुमा गत वर्ष सम्पन्न कपमा १३ सय बिलियन अमेरिकी डलरको प्रतिबद्धता पूरा गर्न लाग्नु पर्ने उहाँको भनाइ थियो ।
“कप-२९ जलवायु वित्त केन्द्रित थियो । हामी सबैलाई आग्रह गर्छौं कि कप-२९ घोषणापत्र कार्यान्वयन गर्नुहोस्”, विश्व जलवायु सम्मेलन (कप-२९) का अध्यक्ष मोक्तर बबइबले बताउनुभयो ।
भारतका वनमन्त्री भूपेन्द्र यादवले जलवायु परिवर्तनले वातावरणीय चुनौती बढ्दै गएकाले यसको असरबाट बच्न साझा प्रयास हुनुपर्ने बताउनुभयो । “हामीले जलवायु परिवर्तन गर्न ठूलो भूमिका खेलेका छैनौं । हामी पेरिस सम्झौता पालना गर्न तत्पर छौं”, उहाँले भन्नुभयो ।
कार्यक्रममा चिनियाँ जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ चीले जलवायु परिवर्तनको समस्या साझा समस्या भएकाले क्षेत्रीय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले हिन्दूकुश हिमशृङ्खलाको संरक्षण गर्न पनि साझा कार्यक्रम र प्रतिबद्धता आवश्यक रहेको पनि बताउनुभयो ।
सबैको कुरा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादलाई विश्वव्यापी संवादको मञ्चका रूपमा नेपालले थालनी गरेको उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले हिमालहरू जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर अघि बढ्नुपर्ने समेत बताउनुभयो । नेपालका हिमाल र पहाडको वातावरणीय महत्त्वबारे विश्वको ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाइ थियो ।
“आशा गर्छौं, यो संवाद त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोण उच्च बनोस्”, प्रधानमन्त्री ओलीले बताउनुभयो ।
कार्यक्रममा शुक्रबार विभिन्न देशका मन्त्रीदेखि जलवायु परिवर्तनका विज्ञ एवं अध्यताहरूले विभिन्न सत्रमा छलफल गरे । हिमाल र मानवताको सम्बन्ध, पर्वतदेखि समुद्र लगायतका विषयमा चार सत्रमा भएका छलफलमा वक्ताहरूले हिमालको संरक्षणको आवश्यकतामा जोड दिए भने विकसित मुलुकको योगदान महत्त्वपूर्ण हुने भनाइ राखे ।