पनौतीमा बाढीले बगाएकी महिला अझै वेपत्ता, चौंथो दिन पनि खाेजी कार्य जारी

जेष्ठ १, २०८२ |पुजन धिताल
पनौतीमा बाढीले बगाएकी महिला अझै वेपत्ता, चौंथो दिन पनि खाेजी कार्य जारी

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ सुब्बागाँउकी २८ वर्षीया रेणुका गिरी सोमबार दिउँसो केही घन्टा परेको पानी पछि आएको बाढीले बगाएपछि अझै वेपत्ता भएकी छन। 

अविरल वर्षाका कारण आएको आकस्मिक बाढीले उनी घर नजिकैको सामान्य खोल्सा जस्तो खहरे खोलाले बगाउँदा वेपता भएका हुन । वैशाख २९ गते पनौती-५ की गिरीको खोजी आज चौंथो दिन पनि जारी छ । आज तालिमप्राप्त कुकुर ल्याएर उनको खोजी सुरू भएको छ ।

वेपता हुनु अघि उनी स्थानियको आलु खन्न मेला गएर फर्कदा वेपत्ता भएकी हुन् । घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य तीव्र पारेका छन। पनौती नगरपालिका क्षेत्रका अन्य स्थानहरूमा पनि भारी वर्षापछिको बाढीले सामान्य क्षति पुर्‍याएको थियाे। 

स्थानीय प्रशासनले विपद् व्यवस्थापनको तयारीका साथै बाढी संभावित क्षेत्रहरूमा सतर्कता अपनाउन जनतालाई आग्रह गरेको छ। रेणुका गिरीको सकुशल फिर्तीको आशामा स्थानीयहरू खोज तथा उद्धारमा सघाइरहेका छन।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।