अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने

वैशाख २३, २०८२ |घनश्याम खड्का
अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने

म्याग्दी । आठ हजार मिटर माथिका हिमालमा पहिलो पटक मानव पाईला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम (८०९१ मी) आरोहण भएको ७५ वर्ष पुरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने भएको छ ।

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा जेठ १६-२२ गतेसम्म स्थानीय अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन वोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको आयोजनामा अन्नपूर्ण आरोहण हिरक महोत्सव गरिन लागेको हो ।

सन् १९५० जुन ३ मा फान्सेली प्रर्वतारोही मौरिस हार्गोज नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । 

उनीहरूले म्याग्दीको दानाहुँदै निलगिरी साउथ हिमालको फेदीबाट हुमखोला, भुस्केटमेलाको परम्परागत भेडा गोठालो मार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए । अन्नपूर्णको यही मोहडाबाट मात्र ७५ वर्षदेखी आरोहण हुँदै आएको छ ।

हिरक जयन्तीको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी मोहडामा रहेको बेस क्याम्पमा पहिलो आरोहीहरू मौरिस हार्गोज, लुईस लचेनल र नेपाली सहयोगी सोनामवाङ्चुक शेर्पाको शालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम छ । 

शालिक अनावरणसँगै प्रथम अन्नपूर्ण आरोही मौरिस हर्जोगको परिवारले हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गर्दा प्रयोग गरेका उपकरणहरू अन्तराष्ट्रिय पर्वतीय संग्राहलय पोखरामा रहनेगरी हस्तान्त्रण गर्दैछ । 

अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साँझा वेस क्याम्प हो । अन्नपूर्ण नर्थ वेस क्याम्पमा पञ्चकुण्ड हिमताल छ । सोही तालबाट बग्ने मिस्त्रीखोलामा निर्माणाधिन जलविधुत आयोजनाले हुमखोलासम्म मोटरबाटो पुर्‍याएपछि परम्परागत गोठाला बाटोको आरोहण मार्ग अहिले भने छोटो र सहज भएको छ ।

अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण साउथ प्रथम, दोस्रो, तेस्रो, चौथो र सहित निलगिरी साउथ, तिलिचो पीक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन । अन्नपूर्ण साउथ र प्रथम चुचुरो म्याग्दीमा र दोस्रो, तेस्रो र चौंथो चुचुरो भने कास्किमा पर्छ । 

माछापुच्छ्रे हिमालको पूर्वमा पर्ने अन्नपूर्ण हिमालाको तेस्रो र चौंथो चुचुरोको फेदीलाई अन्नपूर्ण वेस क्याम्पको रूपमा बढी चर्चित छ । 


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।