सरकारलाई प्रतिनिधि सभाको निर्देशन : प्रिशा साहको निधनबारे सत्य तथ्य पत्ता लगाउनू

वैशाख २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई प्रतिनिधि सभाको निर्देशन : प्रिशा साहको निधनबारे सत्य तथ्य पत्ता लगाउनू

काठमाडौं । प्रतिनिधि सभाले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको निधनबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएको छ । सभामुख देवराज घिमिरेले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी साहको निधनबारे सांसदहरूले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले उज्यालो भविष्यको सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न रहेको जिकिर गर्नुभयो । उहाँले सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे माननीय सदस्यहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ । उज्यालो भविष्यको सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को मृत्युको घटना, राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु ।”

उहाँले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा गर्न/गराउन आवश्यक व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.