गैरआवासीय नेपालीले मुलुकको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् : माओवादी अध्यक्ष दाहाल

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
गैरआवासीय नेपालीले मुलुकको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुर्‍याएको बताउनुभएको छ । आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एनआरएनलाई दिइएको प्रमाणपत्रलाई कामकाजीको बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “म प्रधानमन्त्री भएका बेला गैरआवासीय नेपालीहरूलाई संविधानको भावना अनुसार प्रमाणपत्र दिएका थियौं । तर यो कागज मात्रै भएको छ कामकाजी भएको छैन । त्यसलाई कामकाजी बनाउन सम्पूर्ण प्रयास गरिनेछ । यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु ।” 

आफू प्रधानमन्त्री भएकै बेला गैरआवासीय नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त कोषमा हालसम्म १२० अर्ब रुपैयाँ जम्मा भइसकेको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली नागरिकको सामाजिक कोषमा जम्मा भएको रकमको सदुपयोग गर्ने जिम्मेवारी सरकार र राजनीतिक नेतृत्वको भएको बताउनुभयो ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महसुस रहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले आर्थिक समृद्धि हासिल गर्न एनआरएनसँग भएको स्रोतको सदुपयोग गर्दै ऐतिहासिक सहकार्य आवश्यक रहेको बताउनुभयो । 

एनआरएनएको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिलकुमार साह, बुद्धिसागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बू (तिगेला) चयन भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.