ललितपुर । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । उक्त शौचालय आइतबारदेखि सञ्चालनमा आएको हो ।
शौचालय सञ्चालनको जानकारी दिन आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागे पनि निर्माणको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो शहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ ।”
नगरप्रमुख महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताउनुभयो । यसअघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।
आधुनिक प्रविधिको अपाङ्गतामैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, १ वटा अपाङ्गतामैत्री शौचालय, १ वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटरी सामग्री समेत रहेको छ ।
सम्पदा क्षेत्रको पुरातात्त्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी बनावटमा काष्ठ कला र चुनासुर्कीसहित अप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिँगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ ।
महानगरका अनुसार कुल एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।