कपिलवस्तु । विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा गैरकानुनीरूपमा मोटरबोट सञ्चालन गरिएको छ । मुलुकको दोस्रो पंक्षी आरक्षमा १० सिटे अत्याधुनिक मोटरबोट चल्न थालेपछि चराको वासस्थान बिथोलिएको छ । जलचर, स्तनधारी र सरिसृपको समेत वासस्थान संकटमा पर्ने चिन्तामा संरक्षणकर्मीहरू छन् ।
जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च गैरसरकारी संस्थाले ठेक्का लगाएर मोटरबोट चलाइरहेको छ । विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको ठाउँमा जीवजन्तुलाई असर पर्ने गतिविधि गर्न नपाउने प्रावधान विपरीत मञ्चले ठेक्का लगाएको हो । वैशाख ५ गतेबाट तालमा मोटरबोट सञ्चालन गरिएको छ । यसअघि पनि ०८० कात्तिक २८ गतेदेखि तालमा मोटरबोट चलाउन ठेक्का लगाइएको थियो । तर, साता १० दिनपछि नै डिभिजन वन कार्यालयले रोक लगाएको थियो ।
अहिले फेरि मञ्चले नै एक वर्षका लागि ८ लाख ५५ हजारमा ठेक्का दिएको छ । तीव्र गतिमा घुमाई घुमाई मोटरबोट चलाउँदा चरा डराएर त्रसित भई भाग्ने गरेका छन् । मञ्चले एउटा मोटरबोट र ५ वटा पाइडल डुङ्गाका लागि ठेक्का लगाएको हो । पाइडल डुङ्गा सञ्चालन गैरकानुनी र अपारदर्शी रहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा परेपछि छानबिन गरी डिभिजन वन कार्यालयलाई तत्काल डुङ्गा बन्द गर्न २०७८ मा दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन ।
५ वर्षे एकीकृत व्यवस्थापन योजनामा मोटरबोट सञ्चालन गर्न नपाउने उल्लेख छ । डिभिजन वन कार्यालय मातहतको जगदीशपुर बर्ड सेन्चुरी व्यवस्थापन समितिलाई कुनै जानकारी छैन । डिभिजन वन कार्यालयलाई पनि सूचना दिइएको छैन ।
चराको स्वर्ग मानिने जगदीशपुरमा मोटरबोट चलाउँदा जैविक विविधता र चरा आकर्षण संकटमा परेको छ । मोटरबोटले यहाँको चरा, प्रकृतिमैत्री वातावरण, सुन्दरता र पर्यापर्यटनलाई समस्यामा पार्ने संरक्षणकर्मीहरू बताउँछन् । तालमा मानवीय अतिक्रमण बढ्दा नेपालमै सबैभन्दा बढी पानीचरालाई आश्रय दिँदै आएको तालमा ४ वर्षदेखि तिनको सङ्ख्या घट्दै गएको छ । २०१९/२० तिर २०/२२ हजार पानी चरालाई आश्रय दिँदै आएको ठाउँमा गत वर्ष ८ हजार मात्रै पानी चरा गणना गरिएको थियो ।
रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सिमसार क्षेत्रमध्ये जगदीशपुर ताल १५७ हेक्टरमा फैलिएको छ । आईयूसीएनले गरेको अध्ययनले यहाँ ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने देखाएको छ । ताल क्षेत्रमा १६७ प्रजातिका चरा पाइन्छन् । तीमध्ये ९२ रैथाने, ९ प्रजाति गर्मीमा आउने, ६४ प्रजाति जाडोमा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेका छन् । विश्वमै दुर्लभवन्य जन्तु पानी बिरालो समेत पाइने यो महत्त्वपूर्ण तालमा नियम विपरीत मोटरबोट चलाउनु विडम्बनापूर्ण छ ।