आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रूपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । 

महादेव र पार्वतीको विवाह भएको दिनका रूपमा पनि अक्षय तृतीयालाई लिने गरिन्छ । अक्षय भनेको कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ । यस तिथिमा गरेका कर्महरूको फल नाश नभइ दिगो रूपमा प्राप्त हुने भएकाले यस तिथिलाई अक्षय तृतीया भन्ने गरिन्छ । 

यो युग आरम्भ हुने तिथि पनि हो । महाभारतको लडाईसँगै द्वापर युग सकिएको दिनका रूपमा पनि यस दिनको सम्झना गरिन्छ । सत्य र त्रेता युगको आदि दिवस अर्थात प्रारम्भ दिवसको रुपमा पनि यस दिनलाई लिने गरिन्छ । 

भगवान श्रीविष्णुले नरनारायण, हयग्रीव तथा परशुरामको अवतारसमेत यसै दिन लिएको शास्त्रमा वर्णन गरेको पाइन्छ । भगवान विष्णुको चरणबाट महादेवको मस्तक हुँदै गंगा धरतीमा आएको दिनका रूपमा पनि आजको दिनलाई लिने गरिन्छ । 

वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको शुरूवात भएको मानिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा पनि आजको दिनलाई मनाउने प्रचलन छ । 

आजको दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । ज्योतिष शास्त्रकाअनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन पञ्चाङ्ग नहेरी पनि कुनैपनि शुभकार्य गर्न सकिन्छ । 

आज पशुपतिनाथसहित भक्तपुरको डोलेश्वर महादेव मन्दिर लगायतका विभिन्न शिवालयहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । यस पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दु विश्वासले आज हिन्दु मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । 

यस पर्वमा सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.