काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट एमालेको पार्टी कार्यालय हटाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठान कब्जा गरेर पार्टी कार्यालय चलाउनु गलत भएको बताए ।
प्रतिष्ठानहरु नेताको लुटने भाडो भएको बताउँदै उनले सरकारी बजेट ल्याउने र ति संस्थाका आम्दानीहरू नेताको निजी स्वार्थमा प्रयोग गर्ने काम गलत भएको सांसद साहको आरोप छ । ‘आज संघसंस्थाहरु लुटको अखडा बनेको छ । नेपाली जनताको खुनपसिनाको लाखौं करोडौँ रकम यसरी दुरुपयोग भइराख्दा त्यसलाई नियमन गर्नुपर्ने होइन र ? नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका हाम्रा प्रधानमन्त्रीज्यू त्यसमा आफै मतियार बनेपछि अब न्याय माग्न कहाँ जाने ? आजपा अध्यक्ष साहले प्रश्न गरे ।
प्रतिष्ठान र संघसंस्थाहरु पथभ्रष्ट हुँदा त्यसलाई नियमन गर्नुपर्ने उनले बताए । तर सुशासनको जिम्मेवारी लिएका प्रधानमन्त्रीबाटै कानून उल्लंघन हुँदा विधिको शासन कहाँ खोज्ने भन्दै उनले प्रश्न उठाए ।
एमाले भनेको सबैभन्दा धनी पार्टी भएको बताउँदै उनले १० वर्ष अघि भूकम्पबाट क्षति हुँदा अहिलेसम्ममा पनि आफ्नो पार्टी कार्यालय निर्माण गर्न नसक्नु प्रधानमन्त्री ओलीकै कमजोरी भएको बताए ।
सामाजिक संस्थामा भइरहेको लुट, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउँदै उनले कानून सबैमा लागू हुनुपर्ने र सरकारी अनुदान लगेर दुरुपयोग गर्ने अधिकार कोही कसैलाई नभएको उनले बताए । उनले च्यासल स्थित तुलसीलाल अमात्य प्रतिष्ठानबाट एमाले पार्टी कार्यालय तुरुन्त हटाउनुपर्ने माग समेत गरेका छन् ।