धनकुटामा साढे ४ करोडको खानेपानी योजना सुरू, आयोजनामा उपभोक्ताको लगानी शून्यमा झार्ने मन्त्री यादवको प्रतिबद्धता

वैशाख १४, २०८२ |विनोद घिमिरे
धनकुटामा साढे ४ करोडको खानेपानी योजना सुरू, आयोजनामा उपभोक्ताको लगानी शून्यमा झार्ने मन्त्री यादवको प्रतिबद्धता

धनकुटा । जिल्लाको दुर्गम साँगुरीगढी गाउँपालिकामा बुढिमोरङ बृहत् लिफ्टीङ खानेपानी आयोजना सुरू भएको छ । शनिबार संघीय सरकारका खानेपानी मन्त्री प्रदीपकुमार यादवले उक्त आयोजनाको शिलान्यास गर्नुभयो । 

उक्त अबसरमा मन्त्री यादवले सुरक्षीत र पर्याप्त खानेपानी पुर्याउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले खानेपानी आयोजनामा सहलगानीको मोडेल फेरेर उपभोक्ताको लगानी शून्यमा झार्ने बताउनु भयो । 

अहिले संघीय सरकारले संचालन गरेका खानेपानी आयोजनामा ८५ प्रतिशत सरकार र १५ प्रतिशत लगानी उपभोक्ताको तर्फबाट हुँदै आएको छ । सडक, पुल जस्ता आयोजना सरकारले आफै कार्यान्वयन गरेपनि खानेपानीमा नागरिकलालाई शुल्क लिइनु अव्यवहारिक भएको उहाँको भनाइ थियो । 

खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्यले कार्यान्वयनमा गएका आयोजनामा बजेटको कमि हुन नदिने बताउनु भयो । यद्यपि बजेट खर्च गर्न आयोजनाहरूको साइड क्लियरेन्स र आउने विवाद समाधानमा स्थानीय सरकार र उपभोक्ता सचेत हुनु पर्ने उहाँको भनाई थियो ।

आउँदो असारमा समपन्न हुने ४ करोड ४९ लाख रुपैयाँँ लागतको आयोजनाबाट साँगुरीगढी गाउँपालिका १ र २ का ४ सय ६४ घरधुरी लाभान्वित हुनेछन् । 

साँगुरीगढी २ को तुमबारीमा निर्माणाधिन १ लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीबाट स्थानीय गैरीगाउँ, दानावारी, तम्फूवा, तुम्बारी टोल, कमुवा, तोरीबारी, दुर्गाचोक लगायत स्थानमा बितरण हुनेछ । 

प्रतिसेकेन्ड ५.२२ लिटर पानी आपूर्ति हुने आयोजनाको मुख्य मुहान कमुवा खोलामा छ । उक्त खोलाबाट लिफ्टीङ प्रविधिमार्फत् २.९ किलोमिटर माथि पुर्याइने छ । 

विभिन्न स्थानमा २ वटा पम्पिङ स्टेशन रहने आयोजनाका लागि १८ किलोमिटर बितरण पाइप बिस्तार हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाका प्रमुख भोला प्रसाद थपाले जानकारी दिनुभयो । 

आयोजनाहरूको दिगो व्यवस्थापनका लागि स्थानीय सरकार र उपभोक्ताको पनि दायित्व भएको बताउनु भयो । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मार्फत धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुममा करिब डेढ अर्ब लागतका एकसय ४० बढि खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयनको चरणमा छन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।