काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुनेछ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रश्ताव प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा जानकारी गराउनुहुनेछ ।
अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने कार्यसूची रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१” सभा समक्ष पेश गर्नुहुने कार्यसूची छ ।